अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २२ गते
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तराईका जिल्लामा तापक्रम बढ्ने जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले तातो दिन र तातो हावाको लहरका कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान गरेको छ । कम्तिमा दुई दिन गर्मीका कारण जनजीवन प्रभावित हुने भएकाले सतर्कता अपनाउन मौसमविदहरुको सुझाव छ ।
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै १४ जिल्लामा तातो हावाको लहर चल्ने र ७ जिल्लामा तातो दिन हुने जनाएको छ ।
तातो हावाको लहरबाट प्रभावित हुने जिल्लाहरुमा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी छन् । यी जिल्लाका बासिन्दालाई गर्मीबाट सतर्क रहन विभागले भनेको छ ।
तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ ।