अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस ५ गते।
हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने जनकपुरमा विवाह पञ्चमी पर्व सम्पन्न भएको छ ।
शनिवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह समपन्न भएको हो ।
राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतिकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेरा गरी स्वयंवर हुने गर्दछ ।
स्वयंवरमा साधुसन्तसहित सांस्कृतिक झाँकी प्रदर्शन भएको थियो । कोरानाकाबीच पनि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको स्वयंवरमा सहभागिता थियो । बाह्रबिघामा स्वयंवरपश्चात् निस्केको दुवै डोला जनकपुर नगरको परिक्रमा गरी जानकी मन्दिर पुगेको थियो ।
साँझदेखि जानकी मन्दिर प्राङ्गणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको मैथिली परम्परानुसार विवाहको कार्यक्रम सुरु भएको थियो । त्यहाँ हजारौँ श्रद्धालु रातभर जाग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् । यस अवसरमा श्रद्धालु भक्तजन महिलापुरुषले नाचगान भजन कीर्तन गरी रातभर रमाइलो गर्ने गर्दछन् ।
रामजानकी विवाह महोत्सवको सातौँ दिन आज रामकलेवा हुनेछ । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।