अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ३० गते।
आज लुम्बिनी प्रदेशको बुटवलमा सत्तारुढ नेकपाको ओली समूहले शक्ति प्रदर्शन गर्दैछ ।
बुटवलको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सभाको तयारीका लागि बुटवलमा ओली समर्थक युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्याली गरेका छन् । नेकपाको युवा इन्चार्ज महेश बस्नेतको अगुवाइमा र्याली निकालिएको हो ।
प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले जनसागर हेर्न बुटवल आउनुस् भन्दै जनसभाको घोषणा गरेका थिए । उनले एउटै प्रदेशमा कस्तो जनसागर हुन्छ बुटवलमा देखाउने बताएका छन् ।
ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ । त्यसकै निरन्तरता स्वरुप आज बुटवलमा जनसभा हुन लागेको जनाइएको छ ।