सर्लाहीमा पुनः थपिए १० दिनका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,बैसाख ३० गते।

सर्लाहीमा थप १० दिनका लागि निषेधाज्ञा बढाइएको छ ।

सदरमुकाम मलंगवामा आज दिउँसो बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को बैठकले भोलि राति १२ बजेदेखि लागु हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुनेछन्।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने उनले बताए । उनले भने ‘स्वास्थ्य संस्था र पेट्रोल पम्प खुला रहनेछन् ।’

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *