अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ ९ गते।
आन्दोलनमा सहभागी भएको भन्दै म्यानमारको सैनिक सरकारले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरूलाई निलम्बन गरिदिएको छ। म्यानमार टिचर्स फेडेरेसनका अनुसार गत फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको सेनाले त्यसको विरोधमा भएको नागरिक अवज्ञा आन्दोलनमा साथ दिएकाले उनीहरूले तत्काललाई जागिर गुमाउनु परेको बताएको छ।
म्यानमारमा नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा केही दिनअघि जुन्ता सरकारले निलम्बनको निर्णय गरेको हो। केही अभिभावक र शिक्षकले नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने बताइसकेका छन्।
म्यानमारका विद्यालयमा चार लाख ३० हजार शिक्षक छन्।
‘यो नागरिकहरूलाई काममा फर्काउनका लागि धम्क्याउने तरिकामात्र हो। यदि उनीहरूले यी सबैलाई जागिरबाट निकाले भने पूरा प्रणाली नै रोकिन्छ,’ फेडेरेसनका एक अधिकारीले भने।
उनीविरूद्ध लागेको मुद्दा पनि काममा फर्किएपछि फिर्ता गर्ने सैनिक सरकारले बताएको छ।
झन्डै १९ हजार पाँच सय जना विश्वविद्यालयका कर्मचारीलाई पनि निलम्बन गरिएको शिक्षक समूहले बताएको छ।