महोत्तरीको मटिहानी नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १० गते।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ ।

नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् ।

बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करीब ८ बजे ५०/६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरूसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरू नेपाल ल्याउन सुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।

त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरूले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *