अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २५ गते।
कास्कीमा साउन ५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की प्रशासनले विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन ५ गतेसम्म थप गरेको हो ।
असार २५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेधाज्ञामा जिल्ला भित्रमात्र जोरबिजोर अनुसार सार्वजनिक सवारी संचालन हुनेछन् । त्यसैगरि विभिन्र पेसा, व्यवसाय तथा पसलहरु बिहान ५ बजे देखि साँझ ८ बजेसम्म खुल्ने भएका छन। निजि सवारी साधन पनि अहिले जस्तै जोरबिजोरका आधारमा संचालन हुने छन् ।
निजी सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु तथा सार्वजनिक सवारीसाधन जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चल्नेछन । साना निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ । सार्वजनिक सवारीसाधन संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराखी स्वास्थ्य मापदण्डहरु पुरा गरेर संचालन गर्न प्रशाशनले भनेको छ ।
प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु खोल्न तथा संचालन गर्न रोक लगाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारीका अनुसार माथि उल्लेखित बाहेकका व्यवसायहरु, अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्रीका पसल, तरकारी, पानी, फलफूल आदि बिहान ५ बजे देखि साँझ ८ बजेसम्म संचालन गर्न पाइनेछ ।