चीनले ताइवानको आकाशमा एकैदिन तीन दर्जन बढी लडाकु जहाज पठाए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १७ गते।

ताइवानको आकाशमा चीनले एकैदिन तीन दर्जन बढी लडाकु जहाज पठाएको छ।

शनिबार चीनले दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको हो।

गत  शुक्रबारमात्रै जनवादी गणतन्त्र चीन स्थापना भएको उपलक्ष्यमा राष्ट्रिय दिवस मनाएको चीनले ताइवानको आकाशमा ३८ वटा लडाकु जहाज पठाएको थियो।

शनिबार दिउँसो २० र राति १९ वटा चिनियाँ लडाकु जहाज ताइवानको आकाशमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये धेरैजसो जे-१७ र सु-३० लडाकु जहाज थिए।

चिनियाँ लडाकु जहाज आएपछि आफ्नो मिसाइल प्रणालीबाट तिनको निगरानी गरेको ताइवानले जनाएको छ।

ताइवानलाई आफ्नो अभिन्न भू-भाग दाबी गर्दै आएको चीनले ताइवानको आकाशमा हरेक दिनजसो लडाकु जहाज पठाउने गरेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सेप्टेम्बर महिनामा मात्रै चीनले २० पटकभन्दा बढी पटक ताइवानको आकाशमा लडाकु जहाज पठाएको थियो।

ताइवानले चीनले तर्साउनका लागि यस्तो गरिरहेको भन्दै विरोध गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *