अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १९ गते।
शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो ।

‘ लोक सेवा आयोग मिति २०७६ मङ्सिर २५ को विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नहुँदै मिति २०७८ मङ्सिर २९ मा लोक सेवा अयोगबाट प्रकाशित सूचना नं. ४१८/०७८–०७९ र सूचना नं. ४१९/०७८–०७९ अन्तर्गत समान तहका पदहरूको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम यकिन हुनुपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुन्जेल अहिलेकै कायम रहने गरी र अहिले निवेदकलाई अन्याय नहुने गरी गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइन्छ ।’ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा भनिएको छ ।