अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २६ गते।
न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । जसमा ९ बालबालिका समावेश छन् ।
न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ।
मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताए।
डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको छ।
अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो।
करिब २ सय दमकलकर्मीलाई आगो निभाउनका लागि पठाइयो । अधिकारीका अनुसार इलेक्ट्रिक हिटरमा समस्याका कारण यो आगो लाग्न सुरु भएको हो ।