मिथिला मध्यमा परिक्रमा आजदेखि प्रारम्भ हुने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १९ गते। 

मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि आरम्भ भएको छ ।

मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।

हनुमाननगरमा रात्री विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला भोलि भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ ।

परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् ।

जनकपुरको हनुमान नगरबाट बिहारको कल्याणेश्वर र गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन हुदै धनुषा जिल्लाको औरही आइपुग्ने छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक परिक्रमा यात्री खाली खुट्टा १५ दिवसीय यात्रा तय गर्ने छन् ।

परिक्रमामा धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहित भारतका सीमावर्ती जिल्लाका श्रद्धालुहरु सामेल हुने गरेका छन् । फागु पुर्णिमाको दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलीपल्ट मात्रै तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ । मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको छ ।

परिक्रमा गर्दा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *