आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष,समाचारदाता,असोज ३० गते।

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ ।

दुःख-कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने कुरा बताइएको छ ।

शारदीय नवरात्रको तेस्रो दिन आश्विन शुक्ल तृतीया हो। यस दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिन्छ।

चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो। चन्द्रघण्टा सुनौलो र चम्किलो वर्णकी, दश हात भएकी, सेता पुष्पको माला पहिरेकी, हातमा खड्ग, गदा, त्रिशूल, धनुर्बाण आदि शस्त्रअस्त्र लिएकी, सिंहमा सवार हुने देवी हुन्। यिनको हाउभाउ क्रुद्ध र युद्धका लागि तम्तयार भएको जस्तो देखिन्छ।

घण्टा देवीको प्रिय वाद्य हो। त्यसैले देवीको पूजामा घण्टाको विशेष महत्त्व छ। घण्टाबाट मधुर र मन एकाग्र गर्ने ध्वनि निस्कन्छ।

त्यसैले चन्द्रघण्टालाई स्वरकी स्वामिनी पनि मानिएको छ। यिनले सेवकका लागि घण्टाको मधुर ध्वनि प्रदान गर्छिन् भने आसुरी स्वभावका दुष्टहरूका लागि प्रचण्ड ध्वनि प्रदान गर्छिन्। युद्धमा यिनको उग्र अट्टहास र हृदयभेदी शङ्ख–घण्टाको ध्वनिले दैत्य–दानवहरू मूच्र्छित भएका प्रसङ्ग पुराणहरूमा वर्णित छन्। सेवकका लागि भने यिनी सुमधुर स्वर, संगीत र कलाकी स्रोत हुन्। स्वरसाधक, संगीतकर्मी र कलाकारले यिनको उपासना गर्नाले आफ्नो अभीष्ट प्राप्त गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *