अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, वैशाख २ गते
मिथिलाञ्चलमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।
प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् ।
मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले त्यहा मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।