अनलाईन न्युजपाटी,दाङ्ग,समाचारदाता, मंसिर २१ गते।
दाङ जिल्लामा प्रहरीको टाउको दुखाइ बनेका गुण्डा नाइके वीरेन्द्रकुमार चौधरी पक्राउ परेका छन् ।दाङको देउखुरी उपत्यकामा गुण्डागर्दी गर्दै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले ८–९ दिन अगाडि पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवम् प्रहरी निरीक्षक भरतसिंह राठौरले ज्यानमार्ने उद्योगमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।गुण्डा नाइके चौधरीले गत तिहारको बेला स्थानीय जगत रावतलाई मजदुरी गरेको वीस हजार रुपियाँ माग्न गएका बेला गढवा गाउँपालिका वडा नम्बर ४ खड्कगपुरमा गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।कुटपिट भएपछि रावतले ईलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । उजुरी परेपछि गुण्डा नाइके चौधरी फरार थिए । चौधरीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा चलाइएको निरीक्षक राठौरले बताए ।गुण्डा नाइके चौधरीले स्थानीय तहमा गाउँपालिका, नगरपालिका, सरकारी कार्यालय, क्रसर उद्योग, ठेकेदार, व्यापारीहरूलाई धम्काएर अबैध असुली समेत गर्दै आएका छन् । चौधरीको अबैध हर्कतविरुद्ध प्रहरीमा थुप्रै उजुरी छन् ।गुण्डा नाइके चौधरीलाई छुटाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केही स्थानीय नेताहरू लागेको स्रोतले जनाएको छ । आफ्नो अपराध कर्मलाई लुकाउन प्रदेश सभाको निर्वाचनका बेला गुण्डा नाइके चौधरी तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।गोली हानेको अभियोगमा गुण्डा नाइके चौधरी दाङमा झण्डै छ महिना पुर्पक्षका लागि जेलमा समेत बसीसकेका छन् । उनीविरुद्धको मुद्धा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेको छ ।