अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख १० गते।
लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि एक मात्रअन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ । लकडाउनकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ पार्किङवे निर्माणको काम जारी छ ।
यही समयमा नै सम्पन्न गर्नेगरी निर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिनुभयो । त्यस्तै रनवे इन्ड सेफ्टी एरिया (रेसा) अर्थात् धावनमार्गको अन्त्यमा थप तीन सय मिटर विस्तार गर्ने काम पनि भइरहेको र करिब एक हप्तामै यसको काम पनि पूरा हुने उहाँले बताउनुभयो । जहाज रनवे छाडेर बाहिर जानसक्ने जोखिमपूर्ण अवस्थालाई कम गर्न यसले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।
तोकिएको समयभन्दा छिट्टै सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।