क्वारेन्टाइनमा पुग्न कति कठिनाई – राकेश यादब………..

भारतबाट फर्किनेहरु मध्येका बीरगन्जमा क्वारेटिनमा बस्नेहरुलाई भन्सार प्रहरी चौकीबाट पैदल हिडाएर त्रिजुद्ध स्कुलसम्म पुर्याइन्छ । तसर्थ उचित व्यवस्थापनको जरुरी देखिन्छ । भन्सार प्रहरी चौकीमा एक सानो गाडीको व्यवस्था नगरपालिकाले गरे, आउने जनताले त्यति दुख भोग्ने थिएनन । म एक अनुभव प्राप्त व्यक्तिको हविगत यस्तो हुन सक्छ भने सिधा–साधा जनताको के हालत हुन सक्छ भन्ने कुरा यो घटनाले बताउँछ । तपाईका कुनै आफन्त भारतबाट आउदंै छन् भने अग्रिम र उचित व्यवस्था गरी जान हुन यो लेखिएको घटना एकचोटि पढ्नुहोला ।

भारतबाट बीरगन्ज नाका भई घर र्फकिनेहरुको कठिनाईबारे आज मैले प्रत्यक्ष अनुभव प्राप्त गरे । भारतको गुजरातमा पढ्ने मेरो ठुलो दाईको छोरीको फोन आयो । “डैडी म ट्रेनले मुजफ्फरपुर आई पुगे दुई/तीन घन्टामा रक्सौल पुग्छु, मलाई लिन आउनु होला” छोरीले भनिन् । मैले पनि हुन्छ भने र तयारीमा जुटे । छोरी यति गते आउँछिन भन्ने सुचना मेरो दाईले पहिले नै दिनुभएको थियो । हुन पनि हो, दाइको म भाई यस जिल्लामा अलि परिचित र जानकार भएको हैसियतले पनि दाई निर्धक्क भएर मलाई जिम्मेवारी दिनु नौलो भएन । भाई राजनितक रुपले परिचित छ भन्ने कुरामा उहाँलाई शंका भएन । दाईको त्यो आशा भए पनि छोरी लिन जादाँ मैले भोगेको कठिनाईबारे तपाई सामु एक उदाहरण रुपमा प्रस्तुत गर्न खोजेको हुँ । कारण, म जस्तो जानकार, सबै व्यवस्था मिलाउन सक्नेले त आज आफु समाजमा असफल भएको महसुस गरें ।

छोरीको आगमन रक्सौलमा । म पनि घरबाट हिडें, उनलाई लिन । तर पहिलो रोक दुतावासमा पुलिसद्धारा, घुमाएर जानुस्, दोस्रो रोक कुमु प्यालेस होटेलनिर–घुमाएर जानुस्, फेरि पुरानो शिवा हस्पिटलको बाटो हुदैं घन्टाघर । फेरि प्रहरीद्धारा रोक–घुमाएर जानुस् । रिस उठ्यो – मैले प्रतिप्रश्न गरे “किन घुमाएर जानुस्” । म पनि अलि तातें । उताबाट प्रहरीले भन्यो “साथी कुरा मान्नुस्, हैन भने बाईक लगेर राखदिन्छु ।” अहिले पुलिससँग धेरै बहस नर्गनु भनेर साथीहरुले सम्झाएको कुरा याद आयो । हामी अनुभवी पनि परियो, फेरी बाटो घुमाईयो र ब्यारेकनिर गएर प्रहरीलाई छलेर सिधैं भन्सारतिर लागियो । कतै रोक टोक भएन । शर्कराचार्य गेटभन्दा अलि अगाडि गएपछि सशस्त्रको दुई जना साथीहरुले रोक्न आदेश दिए र भने “तपाई अगाडि जान पाउनु हुन्न ।” म रोकिए अनि आफ्नो उद्देश्यको बारेमा उनीहरुलाई भने । उनीहरुले पनि हुन्छ भनि तपाई यहीं बस्नुस भनेर सुझाए । अनि मैले केही जिज्ञासा राखे “कसरी गर्नु हुन्छ” ? प्रहरीको जवाफ “नेपालको यो नाकाबाट हामी कसैलाई जान दिन्नौ तर कुनै भारतीय भारत जान्न चाहन्छ भने आईसिपी भएर जान सक्छन् तर हामी यो नाकाबाट जान

दिदैनौ ।” तर उता भारतीय प्रहरीले भने परिचय पत्र चेक गरेर नेपाली भएको प्रमाणित भएमा मात्र नेपाल आउन दिने गरेको कुरा मेरो भतिजीले बताईन् ।

केही समयको प्रतिक्षापछि छोरीको आगमन भयो । अनि म र छोरीको चार जना साथीहरु सहित सोसियल डिस्टेनसलाई मान्दै पैदल भन्सारनिर रहेको प्रहरी चौकीमा पुगियो । त्यहाँ प्रहरीहरुको अक्षुत जस्तो गरिएको व्यवहार सहेर भारतबाट आएका बच्चाहरुले आफ्ना परिचय टिपोट गराए । समय २ बजेर ३० मिनेट भएको थियो । तर अब कहाँ जानेबारे सोध्दा त्रिजुद्ध स्कुलमा जानुपर्छ भनेर भन्दै गरेको अनेक चोटि सुनियो । तर कसरी जाने भन्ने बारेमा केही बेर पछि एक पुलिस साथीले कुनै गाडी मगाएर लिएर जानुस् भने । मैले मेरो बाईकमा लिएर जान मिल्दैन भन्दा प्रहरीले भन्यो “धेरै नबोल्नुस्, मिल्दैन टेम्पो, बाईक केहीमा लान पाउनु हुन्न, हैन भने बेलुका सम्म कुर्नुस, १० देखि १५ जना भए गाडीको व्यवस्था गर्नेछौं ।”

केही साथीहरु आ–आफ्नो मेयर, वडा अध्यक्षलाई गाडी पठाउन बिन्तीहरु चढाउदैं थिए । म बेचरा कसलाई फोन गरौं । जेहोस्, मैले मेरो एक नजिकको साथीलाई फोन गरें । “तिम्रो एम्बुलेन्स काहाँ छ” उसले फर्कायो “काठमाडौं” । फेरि मैले अर्को एक नजिकको साथीलाई फोन गरें “तिम्रो गाडी छ ?” उसले भन्यो “मेरो दाईको छोरी बाहिरबाट आएकी छिन्, एक छिन क्वारेन्टिन स्थलमा छोडनुपर्ने भो” भन्दै गाडी छैन भन्यो । हुन पनि हो, यस्तो अवस्थामा कसैको गाडी माग्नु आप्mनै र्मुखता भए पनि आत्म सन्तुष्टिका लागि गरिएको प्रयास मात्रै जस्तो लाग्यो ।

समय ३ बज्यो । घाम चर्को थियो । गर्मी पनि अत्ति । म रिसले चुर भइरहेको थियो । बेचरी छोरी डैडीको रवाफ र ढाडस दुवै माप्दै होलिन् जस्तो लाग्यो । “यो डैडी, खाली झुटमुठको राजनिति गर्नुहुन्छ क्या हो” भनेर सोच्दै होलिन्, छोरी जस्तो लागिरहेको थियो तर केही भनिनन् । फेरि मैले चौकी इन्र्चाजलाई सोधें “बीरगन्जको बच्चाहरुलाई त्रिजुद्धमा कसरी पुर्याउने ?” “मलाई के थाहा” भन्दै उहाँले “मेयरलाई भन्नुस् हामीसँग कुनै साधन छैन” भन्ने दिनुभयो । अन्तमा। त्रिजुद्ध जाने सबैलाई पैदल हिडाएर लाने भनि निर्णय गरे । समय ४ बजे । भन्सार चौकी सशस्त्रको भन्सार गेट अगाडि र फेरि ती प्रहरीले रजतजयन्ती चौकमा रहेको पुलिसलाई हस्तान्तरण गरेर फर्के । त्यहाँ करिब एक घन्टाको बसाईपछि प्रहरीलाई हिंडनुस् भन्दा पर्खनुस भर्खर ६ जनालाई पैदल पुर्याएर आएको जवाफ आयो । “,अर्को डिउटीवाला आउँछ उसले लिएर जान्छ” प्रहरीको जवाफ । एकछिनमा अर्को डियुटिवाला आयो र रजतजयन्ती चौकबाट पैदल हिडाएर त्रिजुद्ध स्कुलसम्म पुर्यायो । केही कागजी प्रक्रियाहरु पुरा गरी त्यहाँबाट पैदल हिडाई छोरीलाई निजी भुक्तानीमा संचालित क्वारेन्टिनमा राखेर पाँच घन्टाको युद्धपछि विजय प्राप्त गरेको अनुभव गर्दै घर फर्किए ।

राकेश यादव

बीरगन्ज निवासी

 नेपाली काँगेसका युवा नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *