अनलाईन न्युजपाटी ,बुटवल ,समाचारदाता, भदौ १३ गते ।
न आफ्नो भन्ने घर र सम्पत्ति छ । न सहरा दिने बाबुआमा नै छन । र पनि मजदुरी गर्दै र गाउँमा चन्दा उठाउँदै कक्षा ८ सम्म पढ्दै छिन् बाग्लुङ्गको ढोरपाटन नगरपालिका वडा नम्वर ९ नवीगाउँकी १४ वर्षीया किशोरी रैमला बिक । सानो गोठको छेउमा भान्सासँगै सुत्ने र बस्ने ठाउँ छ । उनी ढोरपाटन जनवादी आधारभूत विद्यालयमा पढ्छिन् । प्रधानध्यापक देवबहादुर सुनार भन्छन्, ‘स्कुल ड्रेस र कापी कलम किन्ने उनको उपाय नभएपछि हामीले नै चन्दा उठाएर पढाउँदै आएका छौं ।’उनको बाबु तिलमान विकको क्यान्सरको उपचार गर्न नसकेर २०६० सालमा भारतमा मृत्यु भएको थियो । लगत्तै आमा मनकलीले उनै तीन बर्षकी छोरी छाडेर अर्को विवाह गरिन् । रैमला भन्छिन्– ‘त्यतिबेला हजुरबुवा हुनुहुन्थ्यो र थोरै भएपनि स्यहार पाएँ, ७ बर्षकी भएदेखि अहिलेसम्म म एक्लै छु, आश गर्ने कोही छैनन् ।’गहभरि आँशु पार्दै रैमला आफ्नो दुःख पीडा यसरी सुनाउँछिन्– ‘कहिले भोकै बस्छु, कहिले गाउँमा अन्न मागेर पकाएर खान्छु । चाड पर्वमा कसैले माछा मासु दिए खाने हो, नत्र अहिलेसम्म मासु किनेर खाएकी छैन ।’ अरु गाउँवासीेझैं माथि नवी गाउँमा ६ महिना र तल बोबाङ्ग गाउँमा ६ महिना बिताउने रैमला डोकोमा आफ्ना कपडा र भाँडाकुडा बोकेर तल माथि गर्ने गर्छिन् ।