सुत्केरीको मृत्युपछि अस्पतालमा तालाबन्दी

अनलाईन न्युजपाटी,सिन्धुली  ,समाचारदाता,आसिन १  गते ।  

दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले हिजो  तालाबन्दी गरेका छन् । स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि समयमै चिकित्सकसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताए । “चिकित्सकले यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँ”, उनले भने । रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई चिकित्सकले उपचारका लागि अन्यत्र लैजान आफन्तसँग आग्रह गरेका थिए । उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो । “समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भने, “चिकित्सको लापरवाहीले ज्यान गयो ।” बिरामीका आफन्त र स्थानीयवासीले  घटनाबारे छानबिन गर्न माग गरेका छन् । उनीहरुले स्वास्थ्य चौकीमा तालबन्दी गरेपछि सेवा प्रभावित भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *