अनलाईन न्युजपाटी, बारा,समाचारदाता,कार्तिक ३ गते।
बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासे लगायत कर्मचारीलाई दुर्व्यवहार गर्नुको साथै भौतिक आक्रमणको प्रयास गरेकोले उनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका हुन् ।कर्मचारी आन्दोलनका कारण उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द भएका छन् । सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, उपमहानगरपालिकाको कार्यालय बन्द हुँदा नगरबासी भने मर्कामा परेका छन् । योजना शाखामा प्रमुख प्रशाकीय अधिकृत बेलबासे तथा अन्य कर्मचारी काम गरिरहेको समयमा कात्तिक १ गते शुक्रबार बिहान साढे ११ बजे वडा अध्यक्ष सहनी आक्रमक ढँगले पसेर भौतिक आक्रमणको प्रयास गरेको, अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको र कार्यकक्षमा तोडफोड गरेको कर्मचारीहरुले बताएका छन् । छलफल गरी समस्या समाधान गरौं भन्दा अटेर गरी कोठाको ढोकामा पटक पटक लात्तीले हानेको, प्रमुख प्रशासकीय अधिकृतलाई मुक्का प्रहार गर्न खोजेको, अवस्थालाई सामान्य बनाउन खोज्दा वडा नं ६ का वडा अध्यक्ष गम्भिरालाल प्रसादमाथि हातपात गरेको उनीहरुको भनाइ छ ।