अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, साउन २ गते।
कास्कीमा आज बिहान पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।
उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए ।
‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन । हामीले पनि बिहान मात्रै थाहा पायौं,’ प्रवक्ता हमालले भने, ‘जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेका छौं ।’
उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थल पुगिसकेको प्रवक्ता हमालले बताए ।