अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १ गते
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा उप-नियन्त्रक महेश्वर शर्माले भर्खरै नतिजा प्रकाशित गरिसकेको जानकारी दिए। उनले भने,‘भर्खरै बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय भएपछि नतिजा प्रकाशित भइसकेको छ।’
वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रामाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ । विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई सङ्कलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।