अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, भदौ २ गते
मोरङको पथरीमा सोमवार चित्तल सहित एक शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१ का २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुर दरगाउँ घर भई पथरीशनिश्चरे–१ मा बस्दै आएका २१ वर्षीय विश्वबन्धु भनिने विकाश राई रहेका छन् । पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वनबाट चित्तल मारेर ल्याउँदै गर्दा प्रहरी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको संयुक्त टोलले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी वरामद गरेको छ ।
पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ ।