अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २२ गते
आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको आदेशमा अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणाली अन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णय समेत भएको प्रजिअ जोशीले बताए ।
सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् ।