अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १० गते
ललितपुरस्थित एक सुन पसलबाट नक्कली नोट दिएर ५ तोला बराबरको सुनको हार लिएर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
असोज १ गते ललितपुर महानगरपालिका १४ ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजाललाई चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट थमाई सुनको गहना लिएर उनीहरु फरार भएका थिए।
रिजालले बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएपछि उनले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नक्कली नोट बरामद गरी उनीहरुको खोजीकार्य तथा अनुसन्धानलाई तीव्र पारेको थियो।
अन्तत: ८ दिनपछि उनीहरुलाई पक्राउ गरिएकाे छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन र काठमाडौं २१ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय इक्युज तुलाधर रहेका छन्।
पक्राउ परेका दुवै जनालाई शुक्रबार ललितपुर जिल्ला अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा सात दिनका लागि म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखा ललितपुरले जनाएको छ ।