कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २७ गते।

थानकोटबाट कलंकीतिर आउँदै गरेको मालवाहक ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा सो ट्रकले अरु ८ वटा सवारीलाई क्षति गरेको छ ।  दुर्घटनामा परेर एक जनाले ज्यान गुमाएका छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश–२ ०३–००१ ख १४२० नम्बरको आइचर ट्रकले ढुंगेअड्डा नजिक अन्य सवारी साधनहरूलाई ठक्कर दिँदा भयानक दुर्घटना भएको हो ।

आइचर ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर, मोटरसाइकल, डीआई र एउटा साइकललाई ठक्कर दिएको हो ।

ब्रेक फेल भएका कारण अनियन्त्रित भई ट्रकले अन्य सवारी साधनलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख पुरूषोतम कार्कीले जानकारी दिए । साइकललाई ठक्कर दिएको उक्त ट्रकले बिजुलीको पोललाई समेत ठक्कर दिएको छ, जहाँ सबै तारहरू लथालिङ्ग भएका छन् ।

ब्रेक फेल भएको उक्त ट्रकले च्यापेर ओखलढुंगा घर भई ढुंगेअड्डा सडक पेटिमा बस्ने एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीका डीएसपी अपिल बोहोराका अनुसार मृत्यु हुनेमा ओखलढुङ्गाका अन्दाजी ३० वर्षका शंकर परियार रहेका छन् ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । ट्रक चालक मकवानपुर राक्सिराङ–२ का ३९ वर्षीय मानबहादुर रखाल घाइते छन् । टाउकोमा चोट लागेका उनको बयोधा अस्पतालमा उपचार भइरहेको एसएसपीले बताए ।

अन्य घाइतेहरुमा रामचन्द्र सिंखडा, विशाल श्रेष्ठ, गणेश शर्मा, सागर खत्री, रञ्जित चौधरी रहेका सिंहले बताए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको एसएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *