अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १ गते।
जिल्ला प्रहरी कार्यालय चितवनले लाखौं मुल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।
जिल्लाको माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) भरतपुर पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ ।
मंसिर ३० गते बिहान ८:४० बजेको समयमा इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको टोलीले माडी नगरपालिका-९ सोमेश्वरमा माडीतर्फ आउँदै गरेको ना४ख ४४२५ नम्बरको गाडीलाई रोकेर चेकजाँच गर्दा अवैध औषधि बरामद गरेको थियो ।
गाडीको डिक्कीमा लुकाएर राखिएका विभिन्न प्रकारका औषधि फेला परेपछि चालक राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा माडी नगरपालिका-३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाइ राखिएको अवस्थामा पनि विभिन्न प्रकारका औषधिहरु प्रहरीले फेला परेको थियो ।
औषधि ओसारपसार कार्यमा संलग्न मकवानपुरको गढी गाउँपालिका-८ का २५ वर्षीय सुरज गौतम, गढी-३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका-५ का २५ वर्षीय उज्जवल पोख्रेल र वडा नं.२३ का २३ वर्षीय विपिन सापकोटा, चितवनको कालिका नगरपालिका-४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका-३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, सोही स्थानका २२ वर्षीय मिलन महतो, कालिका-३ का ३१ वर्षीय हरिशरण महतो लाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुसंग बरामद गरिएका औषधि कुल ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।