अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १६ गते।
सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरस फैलिएको प्रारम्भिक चरणमा पनि नेपाल-भारत सीमामा निकै कडाइ गरिएको थियो
यूकेमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
हाल नयाँ कोरोनाभाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।
नेपाल-भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्।
तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ।