अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पौष १७ गते।
वीरगन्जको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकै दिन शल्यक्रिया गरिएका दुई महिलाको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका छन्। पुस ८ गते मङगलबार प्रसूतीका लागि बाराको कलैया उपमहानगरपालिका ४ की ३० वर्षीया अमृता श्रेष्ठ र बाराकै पचरौता नगरपालिका १ कि सुनीता देवी ठाकुर प्रभु हस्पिटलमा भर्ना भएका थिए। पुष ८ गते नै राति अस्पतालकी सन्चालकसमेत रहेकी डाक्टर लक्ष्मी थापाले दुवै महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएका थिए। शल्यक्रिया गरेर बच्चा जन्माएकी अमृताको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेल्टिनेटरमा राखेको अवस्थामा पुस ९ गते बिहान ७ बजे मृत्यु भएको थियो। अर्की सुत्करी सुनिताको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर थापाकै सिफारिसमा सुनिताका आफन्तले उनलाई पुस ९ गते साँझ चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा लगेर भर्ना गरेका थिए। भरतपुरको मेडिकल कलेजमा भर्ना गरिएकी सुनिताको शुक्रबार बिहान २ बजे तिर निधन भएको थियो। मृतक दुवै महिलाका परिवारका सदस्यले प्रभु अस्पतालकी सन्चालकसमेत रहेकी डाक्टर थापाकै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। मङगलबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर मृतक दुवै महिलाका परिवारका सदस्यले अस्पतालका डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन्। मृतक अमृताका श्रीमान् मनोहर साहका अनुसार पुस ८ गते प्रसूतीका लागि अस्पतालमा भर्ना गर्दा सुरु डाक्टर थापाले नर्मल डिलेभरी हुन्छ भनेर बताएकी थिइन्। तर राति १० बजे डाक्टर थापाले बच्चाको टाउको ठूलो भएकाले तत्कालै अप्रेशन गर्नु पर्ने अन्यथा आमा र शिशु दुवैको ज्यान जान सक्ने भन्दै दबाब दिएपछि अप्रेशनका लागि आफूहरु राजी भएको श्रीमान् साहले बताए। शल्यक्रियाको भोलिपल्ट भेन्टिलेटरमै उनको निधन भको साहले बताए। अर्की मृतक महिला सुनिता देवीका जेठाजु साहेब ठाकुरले पनि चिकित्सककै लापरबाहीका कारण बुहारीको ज्यान गएको बताए। चेकजाँचपछि बच्चाको टाउको ठूलो भएको भन्दै तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका थिए। ‘राति साढे ९ बजे अप्रेशन गरेर बच्चा जन्मियो । पुस ९ गते साँझ ५ बजे तिर चिकित्सकले आमाको पिसाब रोकियो, किड्नी र लिभर दुवैले अचानक काम गर्न छोड्यो’, चिकित्सकको भनाइ उद्धृत गदैृ उनले भने, ‘यहाँ उपचार हुन सक्दैन भरतपुरको मेडिकल कलेजमा हानुहोस् भनेपछि हामीले एम्बुलेन्समा दिन भरतपुर लग्यौँ।’ भरतपुर लगिएको दोस्रो दिन उनको पनि निधन भएको हो।