अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ५ गते।
लागुऔषध कारोबारमा वर्षौंदेखि सक्रिय रहेकी वीरगञ्जकी ५२ वर्षीया मैयादेवी श्रेष्ठलाई लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंको कलंकीबाट पक्राउ गर्न सफल भएको छ । गत शनिबार दिउँसो लागुऔषधसहित पक्राउ परेकी मैयादेवीलाई प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरीले उनीसँगै नेपालमा लामो समयदेखि लागुऔषधको कारोबारमा सक्रिय दुई भारतीयलाई पनि पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसएसपी वसन्त लामाका अनुसार नेपालमा लामो समयदेखि लागुऔषधको कारोबार गर्नेमा पर्छिन् मैयादेवी । शनिबार पक्राउ परेकी मैयादेवी खानेतेल राख्ने ग्यालिनमा लुकाएर काठमाडौं ल्याउँदै गरेको तीन हजार थान लागुऔषधसहित पक्राउ परेकी हुन् । २०७० मा लागुऔषधसहित पक्राउ परेकी उनले दुई वर्ष जेलजीवन पनि बिताएकी हुन् । त्यसयता पनि उनले लागुऔषधको कारोबार निरन्तर जारी राखेको प्रहरीले जनाएको छ ।