अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २० गते
प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक डाकिएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल विवादबीच सोमबार सकिएको थियो।
आज मध्यान्ह १२ बजे बस्ने बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने सभामुख पूर्ण बहादुर घर्तीले बताए। उनका अनुसार मतदानका लागि सबै तयारी पूरा भएको छ।
मन्त्री केसीले गरेको प्रस्तावमा दुई तिहाई पुगेमा राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ रहनेछ। प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। तीमध्ये सभामुखबाहेक ६० सांसदले मतदान गर्नेछन्।
कांग्रेसका १९ सांसदमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ।