अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, चैत्र ९ गते
चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ ।
धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा आइतबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पण्डित गणेश झाले बताए ।
यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाईन ( विना नुन हालेको ) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरू समावेश हुन्छ ।
षष्ठी (सोमबार) का दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
त्यस्तै त्यसको भोलिपल्ट अर्थात बुधबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन् ।