अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १९ गते।
कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ ।
गोधन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले पूजा गर्ने गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृतिको आराधना भएको मैथिल विद्वान बताउँछन्।
यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्गाउन प्रयोग गरिन्छ ।
गाई, गोरुलाई विभिन्न रङ्मा मिसाएर यो मिश्रणले रङ्गाउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधि) नलाग्ने मैथिल जनविश्वास छ।
पर्वका दिन गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना खुवाउने र नयाँ दाम्ला लगाइदिने (दाम्ला फेर्ने) परम्परा रहेको छ ।