अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।
नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबार बाट सञ्चालन ल्याएको छ ।
चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको हो ।
यातायात व्यवस्था कार्यालय स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिनुभयो ।
९ महिनादेखि रोकिएको परीक्षा सञ्चालन भएपछि आम सेवाग्राहीहरू पनि हर्षित भएका छन् । आजैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेको छ । दैनिक ठूला साना गरी ३ सय जनाले अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको जनाएको छ ।