अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ८ गते।
झापामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
मृतक आचार्य ग्लोबल आइएमइ बैंक, फिक्कल शाखाका प्रमुख हुन। दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएको हो।
पूर्व-पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे।
दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर १० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा-१० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन्। उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।