भूमि आयोगमा नयाँ जागिरेको भीड

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ११ गते।

भूमि समस्या समाधान आयोगको कार्यालय ताहचलस्थित गरीवी निवारण कोषको कार्यालय रहेकै भवनमा छ । सोमबार दिउँसो आयोग परिसरमा ठूलो संख्यामा युवाहरु घाम तापिरहेका थिए ।

आयोगले करारमा भर्ना गर्ने गरी गत पुस १० गते १३० जना सर्वेक्षकहरुको दरखास्त आह्वान गरेको थियो । छनौटमा परेकाहरुलाई सोमबार करार सम्झौताका लागि बोलाइएको हो । सोमबार नियुक्ति पाएका सर्वेक्षकहरुलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले दुई हप्ता तालिम दिने र त्यसपछि स्थानीय तहमा जग्गा नाप–जाँचका लागि पठाउने आयोगले जानकारी दिएको छ ।

भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि ४२६ भन्दा बढी स्थानीय तहसँग सम्झौता गरिसकेको छ । सम्झौता गरिएका मध्ये १६७ स्थानीय तहमा ३५ दिने सूचना प्रकाशित गरी लगत संकलनसमेत भएरहेको आयोग स्रोतले बतायो ।

लगत संकलन गरिएका भूमिहीन एवं अव्यवस्थित बसोबासीहरुको डाटा कम्प्युटरमा इन्ट्री भइरहेको आयोगका कर्मचारीहरु बताउँछन् ।

भूमिसम्बन्धी ऐन र नियमावली अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले नै सम्हाल्ने छन् । यसमा भूमि आयोगले प्राविधिक सहजीकरण मात्र गर्नेछ । विगतमा जस्तो आयोगले नै सुकुम्बासीलाई धनीपूर्जा बाँड्दै हिँड्नेखालको परिपाटी यसपटक नहुने आयोगका अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *