अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १६ गते।
चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ।
नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणितज्ञको सहभागिता हुने पत्रकार सम्मेलन गरी अध्यक्ष डा चेतराज भट्टले जानकारी दिए।
उनले गणितको महत्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ। उनले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताए।
सम्मेलनमा नेपाली गणितज्ञले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन्। सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य रहेको छ।