अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १५ गते।
मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ ।
आज पनि देशका धेरै ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस क्रममा दुइटा प्रदेशमा भने भारी (ठूलो) वर्षाको पनि सम्भावना छ।
दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ,प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
अहिले पनि गण्डकी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ।