अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ४ गते।
नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ ।
‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद्ले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’
मौसमविद्ले आजबाट मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा भने नहुने बताए । ‘एक-दुई ठाउँमा थोरै पानी पर्ने सम्भावना कायमै रहेकाले पूर्ण सुक्खा भने हुँदैन’ मौसमविद श्रेष्ठले भने, ‘तर अब ठूलो पानी पर्ने सम्भावना भने छैन ।’
नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण गत असोज ३१ गतेबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । पानी पार्ने सो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको थियो ।