आईपीएलमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको शानदार जीत हासिल गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज २२ गते। 

आईपीएलमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको शानदार जीत हासिल गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १६.१ ओभरमा मात्र ८५ रनमा अलआउट हुन पुग्यो । 

जीतसँगै कोलकाताले १४ खेलबाट १४ अङ्क बटुल्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । टोलीले प्लेअफमा स्थान बनाउने लगभग पक्का छ । अब मुम्बईले एक शर्तमा मात्र मात्र कोलाकातालाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सक्नेछ । यसका लागि मुम्बईले हैदराबादसँगको खेलमा पहिलो ब्याटिङ गर्दै २ सयभन्दा बढी रन बनाउनुपर्नेछ भने १७० रनभन्दा बढीको अन्तरले खेल जित्नुपर्नेछ ।

कोलकाताले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निरस ब्याटिङ प्रदर्शन गरेको थियो । राहुल तेवाटियाले ४४ र शिवम दुवेले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । कोलकाताका लागि शिवम माभीले ४ तथा लोकी फर्गुसनले ३ विकेट लिए ।

यसअघि, शुभमन गिलको ५६ तथा वेंकटेस ऐयरको ३८ रनको मद्दतले कोलकाताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलकाताका लागि राहुल त्रिपाठीले २१ रनको योगदान दिएका थिए ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *