अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक २० गते।
टी-२० विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डविरूद्ध सानदार जित निकालेको छ।
स्कटल्याण्डलाई शुक्रबार ८ विकेटले हराउँदै भारतले सेमिफाइनल प्रवेश सम्भावना कायमै राखेको हो।
स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले मात्र ६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।
भारतको सहज जितमा केएल राहुलले सर्वाधिक ५० रन बनाए। १९ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र १८ बलमा अर्धशतक पुरा गरेका थिए जुन टी-२० अन्तर्राष्ट्रियमा युवराज सिंहको १२ बलको अर्धशतक पछि दोस्रो छिटो अर्धशतक हो। यस्तै रोहित शर्माले १६ बलमा ५ चौका र १ छक्का मद्दतले ३० रन बनाए। रोहित र राहुलले मात्र ५ ओभरमा ७० रनको साझेदारी गरेका थिए।
चौ ओभरको अन्तिम बलमा रोहितलाई ब्राडले व्हिलले एलबिडब्लुको धरापमा पारे। त्यसपछि राहुल अर्धशतक पुरा गरेलगत्तै मार्क वाटबाट क्याच आउट भए। टिमलाई जितका लागि ४ रन आवस्यक रहेको बेला सूर्यकुमार यादवले छक्का प्रहार गर्दै जित दिलाए।
भारतका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित निकाल्ने क्रममा शुक्रबार स्कटल्याण्डलाई ८१ बल बाँकी छँदै खेल जित्यो। भारतको यसअघि सबैभन्दा ठूलो जित २०१६ मा युएईविरूद्ध ५९ बल बाँकी रहँदै जितेको थियो।
स्कटल्यान्डका लागि ब्राड ह्वील र मार्क वाट्टले समान एक–एक विकेट लिएका थिए।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो। स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे। मिचेल लेस्कले २१, क्यालुम म्याकलिओडले १६ रन बनाउँदा मार्क वाटले १४ रन जोडे। बाँकी कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले समान ३-३ विकेट लिए भने जसप्रित बुमराहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए।
यससँगै भारतले अन्तिम चारको सम्भावना बचाइराखेको छ।
यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।