अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २८ गते।
राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको हो ।
डेमोक्र्याटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
अमेरिकी संविधानमा उल्लेख गरिएअनुसार ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।
राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।