अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन ६ गते।
फेसबुकबाट समाचार हेर्न र सेयर गर्न अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ ।
अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र सेयर गर्नमा रोक लगाउने घोषणा गरेको छ।
बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गरिएको छ ।
अस्ट्रेलियामा बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन्। यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।
प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री साझा गरे बापत शुल्क तिर्न बाध्य पार्ने छ।
यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो।
सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।
अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ ।