अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २६ गते।
काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका थिए ।
मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ ।
विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन ।