तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ २ गते।

तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ ।

काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई उनले गौरवको क्षण भनेका छन् ।

महिला अधिकारको बारेमा उठिरहेको प्रश्नको बारेमा उनले भने, ‘हामी महिलाहरुलाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’

धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार आफूहरुलाई भएको बताउँदै प्रवक्ता जबिहुल्लाहले भने, ‘अरु देशका अलग-अलग दृष्टिकोण, नियम र कानुन भएजस्तै हामी अफगानी नागरिकलाई हाम्रो नियम, कानुन तय गर्ने अधिकार छ ।

अफगानिस्तान अब संघर्षको मैदान नबन्ने बताउँदै जबिहुल्लाहले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौं कि कसैलाई क्षति हुन दिने छैनौं । हामी अन्तर्राष्ट्रिय समुदायसँग कुनै उल्झन चाहँदैनौं ।’

तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै उनले अब दुश्मनी समाप्त भएको बताए । ‘हामी अब देशभित्र वा बाहिर कुनै दुश्मन चाहँदैनौं । काबुलमा अब अराजकता देख्नु छैन,’ उनले भने, ‘अफगानिस्तानमा स्थिरता या शान्तिका लागि सबैलाई माफी गरिदिएका छौं । हामी हाम्रा लडाकु तथा अन्य सबै मिलेर हाम्रो साथमा अन्य सबै गुट र पक्षलाई ल्याउने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *