तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २५ गते।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त प्रणालीले हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। 

प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। 

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *