आजदेखि कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाईदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २ गते।  

आजदेखि सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाईदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।

सोही अनुसार आजदेखि पहिलो चरणमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणमा आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।

बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।
शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *