नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिंदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १२ गते।

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिंदै छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

जनकपुरको राजदेवी मन्दिर, बौधीमाइ मन्दिर, महोत्तरीको माइस्थान मन्दिर, सप्तरीको छिन्नमस्ता सखरा भगवती मन्दिर लगायत शक्तिपीठमा बिहानैदेखि चन्द्रघण्टा देवीको पूजाअर्चनाको निम्ति श्रद्धालुभक्तजनको भीड लागेको छ ।

चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *