जनकपुरधाम सहित देशभर आज महाशिवरात्रि पर्व धुमधामकासाथ मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन ६ गते।

जनकपुरधाम सहित देशभर आज आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व धुमधामकासाथ मनाइँदैछ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि शिवालयमा पुजाआजाका लागि भक्तजनहरुको भीड लागेको छ ।

जनकपुरधाम शिव मन्दिर, कपिलेश्वरनाथ महावेदव, क्षीरेश्वरनाथ महादेव, बटेश्वर स्थित बटेश्वरनाथ, भुवनेश्वर नाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायत शिवालयहरुमा बिहहानैदेखि भक्तजनको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *