अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ५ गते।
सुदूरपश्चिममा सोमबारबाट गौरापर्व सुरु भएको छ ।
गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न -गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ।
पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ ७ र ८ गते दुई दिन बिदा दिने निर्णय गरेको छ। दार्चुला, बैतडी, डडेलधुरा र डोटीमा विशेष पर्वका रूपमा मनाइँदै आएको गौरा पर्व सुदूरपश्चिम प्रदेशका अतिरिक्त कर्णाली प्रदेश र सङ्घीय राजधानी काठमाडौँमा समेत धुमधामका साथ मनाइने गरिन्छ।