अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस २९ गते।
भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ७५ वर्षीय यादवको उपचारका क्रममा गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको हो ।
उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।
यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री थिए । उनले ९० को दशकको उत्तरार्धमा अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकारमा मन्त्रीको रूपमा पनि काम गरेका थिए ।
शरद यादव एक प्रमुख समाजवादी नेता थिए, जो ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए र दशकौंसम्म राजनीतिमा आफ्नो उल्लेखनीय उपस्थिति दर्ता गरेका थिए ।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रौपदी मुर्मुले गहिरो दुःख व्यक्त गरेका छन् ।